२१ असार,
नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्दै आफ्नो दबदबा फेरि एकपटक प्रमाणित गरेको छ। शनिबार मलेसियामा सम्पन्न उपाधि भिडन्तमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै प्रतियोगिता अपराजित रुपमा सम्पन्न गर्यो।
सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। कठिन अवस्थामा नेपालको जित सुनिश्चित गराउने मुख्य पात्र बने जोय थापा, जसले अविजित २४ रनको संयमित पारी खेले।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर नेपाली बलरहरूको घातक आक्रमणसामु ४०.५ ओभरमै ११३ रनमा समेटियो। रोहन अस्टिनले ९० बलभन्दा बढी खेलेर सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन जोडे।
नेपालका लागि अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३४ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै, सुशिल बहादुर रावलले पनि ३ विकेट हात पार्दा शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट झारे।
नेपालले समूह चरणदेखि फाइनलसम्म एक पनि खेल नहारेर उपाधि जितेको हो। समूह चरणमै सिंगापुरलाई हराइसकेको नेपालले फाइनलमा पनि दोहोर्याउने क्रममा उपाधि रक्षा गर्न सफल रह्यो।
गत संस्करणको विजेता नेपालले यसपटक पनि च्याम्पियन बन्ने यात्रालाई पुनः दोहोर्याएको छ।









प्रतिक्रिया दिनुहोस्