काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चार महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको प्रारम्भिक प्राथमिकता र कार्यदिशासम्बन्धी निर्णयहरू गरेको हो।
बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले बैठकले गरेका निर्णयबारे जानकारी दिइन्।
मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ।
यसैगरी, शासकीय सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले तयार पारिएको सरकारको ‘१०० कार्यसूची’ मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको छ। उक्त कार्यसूची भोलिसम्म सार्वजनिक गरिने प्रवक्ता पोखरेलले जानकारी दिइन्।
त्यस्तै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ। आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिसका आधारमा निर्णय गरिने जनाइएको छ।
अन्य सिफारिसका हकमा भने सम्बन्धित निकाय, गृह मन्त्रालय लगायतलाई आयोगको प्रतिवेदनअनुसार तत्काल कार्यान्वयन अघि बढाउन निर्देशन दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताइन्।









प्रतिक्रिया दिनुहोस्