२०८३ बैशाख २२ गते मङ्गलवार

बिरामी बोक्न स्टेचरमै सीमित: पलाँतामा एम्बुलेन्स कहिले आउला?



चैत्र १७, पलाँता – पलाँता गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामी र घाइतेहरूले ठूलो समस्या भोग्नुपरेको छ। गाउँपालिकाभर अधिकांश वडासम्म सडक सुविधा पुगेको छ, तर बिरामीलाई अस्पताल पुर्‍याउने एम्बुलेन्स नहुँदा विपन्न तथा सामान्य आर्थिक अवस्थाका परिवारहरू झन् ठूलो संकटमा परेका छन्।

स्थानीय सरकार लागू भएको आठ वर्ष बितिसक्दा पनि गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गर्न सकेको छैन। आकस्मिक बिरामी तथा दुर्घटनामा परेकाहरूलाई अस्पताल लैजान गाडीको समस्या हुँदा कतिपयको ज्यानै जाने अवस्था आएको छ।

चर्को भाडाका कारण उपचार नै असम्भव

पलाँतामा निजी सवारीसाधनहरू सञ्चालनमा छन्, तर ती गाडीहरू बिरामीलाई लैजान महँगो भाडा लिन्छन्। विपन्न तथा गरीब परिवारका लागि उपचार खर्च नै जुटाउन गाह्रो हुँदा, गाडी भाडा तिर्न नसकेर अस्पतालसम्म पुग्न नसक्ने अवस्था आएको छ।

“हामी बिरामीलाई बचाउन अस्पताल लैजान चाहन्छौं, तर गाडीको चर्को भाडा तिर्न सक्दैनौं। कहिलेकाहीं उपचारका लागि छुट्याइएको पैसा नै गाडी रिजर्भ गर्न खर्च हुन्छ, त्यसपछि औषधि उपचार कसरी गर्ने?” स्थानीय एक बासिन्दाले दुखेसो पोखेका छन्।

दुर्घटना र आकस्मिक बिरामीका लागि ठूलो समस्या

पलाँतामा पटक–पटक गाडी दुर्घटना हुने गरेको छ। तर, घाइतेलाई छिटो अस्पताल पुर्‍याउने व्यवस्था नहुँदा कतिपयको ज्यान जाने गरेको छ।

“गाउँमा सडक बने पनि एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल लैजान सकिँदैन। कहिलेकाहीं निजी गाडी पाउन नै मुश्किल हुन्छ, पाइहाले पनि महँगो भाडा तिर्न सक्दैनौं,” अर्का स्थानीयले गुनासो गरे।

स्वास्थ्य सेवामा सरकारको बेवास्ता?

स्वास्थ्यजस्तो गम्भीर विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने हो। तर, जनताले पटक–पटक माग गर्दा पनि एम्बुलेन्सको व्यवस्था गर्न कुनै चासो नदेखाएको भन्दै स्थानीयहरू असन्तुष्ट छन्।

“गाउँपालिकाका लागि एम्बुलेन्स किन्ने बजेट छैन भन्ने होइन, तर जनप्रतिनिधिहरूले चासो दिएका छैनन्। हामीले बारम्बार माग गर्दा पनि सुनुवाइ भएको छैन,” स्थानीय समाजसेवीले भने।

जनताको माग: तत्काल एम्बुलेन्सको व्यवस्था गरियोस्

गाउँपालिकाका जनताले अब पालिकाले यो समस्यालाई गम्भीर रूपमा लिनुपर्ने माग गरेका छन्। एम्बुलेन्स नहुँदा सुत्केरी महिला, दीर्घरोगी, दुर्घटनामा घाइते तथा आकस्मिक बिरामीहरूले ठूलो दुःख भोग्नुपरेको छ।

“स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउने जिम्मेवारी सरकारकै हो। अब ढिला नगरी गाउँपालिकाले कम्तीमा एउटा एम्बुलेन्सको व्यवस्था गरोस्,” स्थानीय युवाहरूले माग गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार