कालिकोट, महाबै – वातावरण संरक्षण, जनस्वास्थ्य सुधार र जङ्गलको अत्यधिक दोहनलाई न्यूनीकरण गर्ने लक्ष्यसहित महाबै गाउँपालिकामा आधुनिक सुधारिएको धुवाँरहित चुलो वितरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।
इकोहिमाल नेपालले ५०० घरधुरीलाई सुधारिएको चुलो वितरण गर्न लागेको छ भने क्रीन नेपाल, सहास नेपाल र टिडियस जर्मनीको सहकार्यमा थप १५०० घरधुरीलाई आधुनिक चुलो वितरण गरिने कार्यक्रम रहेको छ। यसरी जम्मा २००० घरधुरीलाई लक्षित गर्दै यो वातावरणमैत्री अभियान अघि बढाइएको हो।
सुधारिएको चुलोले खाना पकाउँदा निस्कने धुवाँको असर कम गर्दै श्वासप्रश्वासजन्य रोगमा कमी ल्याउने अपेक्षा गरिएको छ। साथै, कम इन्धन खपत हुने भएकाले यसले जङ्गल संरक्षणमा समेत सकारात्मक प्रभाव पार्नेछ।
इकोहिमाल नेपालका प्रतिनिधिले बताएअनुसार, “हामीले जनताको जीवनशैलीमा सुधार ल्याउने र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने दिर्घकालीन लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गरेका छौं। स्थानीय सहभागिता र जनचेतनाले यसको सफलतालाई सुनिश्चित गर्नेछ।”
स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले पनि यस्तो वातावरणीय एवं स्वास्थ्य अनुकूल प्रविधिको आगमनलाई स्वागत गरेका छन्। कार्यक्रम केही चरणमा सञ्चालन भई चाँडै सम्पूर्ण लक्षित घरधुरीमा आधुनिक चुलो पुर्याउने तयारी भइरहेको छ।









प्रतिक्रिया दिनुहोस्