कालिकोट । महावै गाउँपालिका वडा न. १ जगन्नाथ आधारभूत विद्यालयमा नवनियुक्त प्रधानाध्यापकको जिम्मेवारी टोपबहादुर शाहीले सम्हाल्नु भएको छ । विद्यालय व्यवस्थापन समिति (विव्यस), वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, अभिभावक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण स्टाफप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै करिब १८ वर्षदेखि शिक्षण पेशामा सक्रिय रहँदै आउनुभएका उहाँले कालिकोट जिल्लाकै शैक्षिक क्षेत्र सुधारका लागि निरन्तर योगदान दिँदै आएको बताउनुभयो। शिक्षण यात्राकै क्रममा तिलागुफा नगरपालिका अन्तर्गतको महादेव माध्यमिक विद्यालय, रूडुमा पहिलो पटक प्रधानाध्यापकको जिम्मेवारी पाई चौतर्फी शैक्षिक विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ छ। उक्त विद्यालयको नमुना विकासका लागि निरन्तर चिन्ता र प्रयास रहँदै गर्दा सरुवा भई आफ्नै गाउँको विद्यालयमा आउनु परेको पनि उहाँले स्मरण गर्नुभयो।
हाल करिब ४ वर्षदेखि यस विद्यालयमा कार्यरत रहनुभएका उहाँ महावै गाउँपालिका तथा विव्यसको निर्णयअनुसार ६ महिनाका लागि काज सरुवा भई देव आधारभूत विद्यालय, ओदामा सेवा दिनुभएको थियो। त्यहाँ कार्यरत रहँदा देखाएको अनुशासन र लगनशीलताको कदर गर्दै सम्मानित पालिका सरकारले काज फिर्ता गरी पुनः हालको विद्यालयमा जिम्मेवारीसहित हाजिर गराएको उहाँले जानकारी दिनुभयो।
समयक्रमसँगै आज विव्यसको बैठकबाट जगन्नाथ आधारभूत विद्यालयको शैक्षिक प्रशासन सम्हाल्ने गरी प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको भन्दै उहाँले आफू शिक्षक भएकाले जुनसुकै जिम्मेवारी र खटाइएको स्थानमा गएर इमानदारीपूर्वक काम गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्नुभयो। जिम्मेवारी प्रदान गर्ने सबैप्रति उहाँले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
पदभार सम्हालिसकेपछि उहाँले निम्न प्रतिबद्धता सार्वजनिक गर्नुभएको छः
१) यस विद्यालयको चौतर्फी विकासका लागि सदैव क्रियाशील रहने।
२) नेपाल सरकारले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर कामकाज गरे वापत प्रदान गर्ने १०० प्रतिशत सुविधा तथा भत्ता नलिने र उक्त बजेट विद्यालयमा अध्ययनरत गरीब परिवारका बालबालिकाका लागि तथा विद्यालयको आवश्यक शैक्षिक सुधार क्रियाकलापमा दान गर्ने।
३) विद्यालय विकास र सुधारका लागि स्टाफ, विव्यस, सरकार, विद्यार्थी, अभिभावक, राजनीतिक दल, संघ–संस्था सबैसँग समन्वय, सहकार्य गर्दै सार्वजनिक पारदर्शिता र नियमित रिपोर्टिङसहित जिम्मेवारी बहन गर्ने।
४) जति दिन, महिना र वर्षसम्म यो सम्मानित पदमा रहन्छु, त्यति नै समय विद्यालयको विशेष चिन्ता लिएर इमानदारीपूर्वक काम गर्ने।
अन्त्यमा उहाँले सबैप्रति पुनः धन्यवाद व्यक्त गर्दै आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गरिएकोमा आभार प्रकट गर्नुभयो। साथै, सबैको आशा र भरोसालाई अझ उचाइमा पुर्याउने प्रयास निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्