२०८३ जेष्ठ ३० गते शनिवार

महावै–१ थामखेतका ५३ बालबालिकालाई चक्रव्यूह नेपालद्वारा झोला वितरण



कालीकोट — महावै गाउँपालिका–१, थामखेतस्थित फ्लो ओपन स्कुलमा अध्ययनरत ५३ जना बालबालिकाले चक्रव्यूह नेपालको सहयोगमा विद्यालय झोला प्राप्त गरेका छन्। पुनः प्रयोगयोग्य (अपसाइकल्ड) सामग्रीबाट निर्मित झोला वितरण कार्यक्रमले बालबालिकामा नयाँ उत्साह र खुसी थपेको छ।
आर्थिक तथा सामाजिक रूपमा विपन्न परिवारका धेरै बालबालिकाका लागि आफ्नै विद्यालय झोला हुनु एउटा सपनाजस्तै विषय थियो। चक्रव्यूह नेपालको सहयोगले उनीहरूको त्यो सपना साकार भएको विद्यालयले जनाएको छ।
संस्थाको “हाम्रो भविष्य हाम्रो हातमा” भन्ने नाराले बालबालिकामा आत्मविश्वास, जिम्मेवारी र उज्ज्वल भविष्यप्रतिको आशा जगाएको छ। चुनौतीपूर्ण परिस्थितिका बाबजुद निरन्तर शिक्षा हासिल गरिरहेका बालबालिकाका लागि यो सहयोग प्रेरणादायी बनेको छ।
चक्रव्यूह नेपालको टोली काठमाडौंबाट करिब २७ घण्टाको लामो यात्रा र थप ३ घण्टाको पैदल यात्रा तय गर्दै महावै गाउँपालिका–१ कामखेतस्थित दुर्गम बस्तीमा पुगेको थियो। टोलीको समर्पण, माया र सहयोगप्रति विद्यालय परिवारले विशेष आभार व्यक्त गरेको छ।
झोला प्राप्त गरेपछि बालबालिकाको अनुहारमा देखिएको खुसी र उत्साहले कार्यक्रमलाई थप भावुक र स्मरणीय बनाएको थियो। यस सहयोगले बालबालिकालाई केवल पुस्तक बोक्ने झोला मात्र नभई आफ्ना सपना र उज्ज्वल भविष्यका सम्भावनाहरू बोकेर अघि बढ्ने प्रेरणा दिएको विद्यालयको विश्वास छ।
विद्यालय प्रशासनले चक्रव्यूह नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले दुर्गम क्षेत्रका बालबालिकाको शैक्षिक विकास र भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते बिहिवार