कालिकोट-जिल्लाको रास्कोट नगरपालिकामा खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा अन्तरपालिका स्तरीय खेलकुद सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित तेस्रो मेयर कप–२०८३ अन्तर्गत टी–२० क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु भएको छ।
रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पालिकाका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको मेयर कपलाई यस वर्ष पनि नगरपालिकाले निरन्तरता दिएको हो। नगरप्रमुख धर्मराज शाहीको नेतृत्वमा स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै युवाहरूको प्रतिभा पहिचान, प्रोत्साहन र अन्तरपालिका सम्बन्ध विस्तारमा जोड दिएको देखिन्छ।
क्रिकेटतर्फ प्रथम हुने टोलीले १ लाख ५० हजार रुपैयाँ र द्वितीय हुने टोलीले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै फुटबलतर्फ प्रथम पुरस्कार ८० हजार रुपैयाँ र द्वितीय पुरस्कार ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई ट्रफी र मेडल प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई समेत ट्रफीद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा स्थानीय नेता, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले खेलकुदले युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। यस्ता प्रतियोगिताले खेलाडीको मनोबल उच्च बनाउनुका साथै स्थानीय व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तर खेलकुदप्रेमी तथा स्थानीय सरोकारवालाहरूले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएका छन्—आगामी २०८४ सालमा स्थानीय तहको नेतृत्व परिवर्तन भएपछि यस्ता सकारात्मक खेलकुद तथा सामाजिक सद्भावका अभियानले निरन्तरता पाउलान् कि नपाउलान्?
नेतृत्व परिवर्तन लोकतान्त्रिक प्रक्रिया भए पनि व्यक्तिभन्दा माथि संस्था र राजनीतिक स्वार्थभन्दा माथि समाजको साझा हितलाई राख्नुपर्ने स्थानीयवासीको धारणा छ। आज सुरु भएका खेलकुद, युवा प्रोत्साहन र सामाजिक एकताका कार्यक्रमलाई आगामी नेतृत्वले पनि स्वामित्व लिएर निरन्तरता दिनु आवश्यक देखिन्छ।
तेस्रो मेयर कपले रास्कोटसहित आसपासका पालिकामा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै स्थानीय तथा अन्तरपालिका स्तरका प्रतिभावान् खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।









प्रतिक्रिया दिनुहोस्