२०८३ कार्तिक १३ गते बिहिवार

धनमानसिंह स्मृति कप–२०८३ को उपाधि नरहरिनाथको झिल्को टिमलाई, पचालझरना उपविजेता



कालीकोट। कालीकोटको पलाँता गाउँपालिका–९, थिर्पुमा सम्पन्न प्रथम धनमानसिंह स्मृति कप–२०८३ पालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नरहरिनाथ गाउँपालिकाबाट सहभागी झिल्को टिमले जितेको छ। प्रतियोगितामा पचालझरना गाउँपालिकाको टिम उपविजेता बनेको छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै झिल्को टिमले रु. १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता पचालझरना गाउँपालिकाको टिमले रु. ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
स्थानीय स्तरमा भलिबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विभिन्न पालिकाका खेलाडीबीच प्रतिस्पर्धा, आपसी सद्भाव र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्‍याएको छ।
कार्यक्रम संयोजक प्रेमबहादुर बमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै सहभागी टिम, खेलाडी, सहयोगी, आयोजक तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता उजागर गर्नुका साथै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा खेलप्रेमीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार