२०८३ असार २४ गते बुधवार

पलाँता गाउँपालिकाले ल्यायो ४९ करोड ६९ लाखभन्दा बढीको बजेट



कालिकोट, असार १० – पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसाको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष अलैपुरा हमाल (जैशी) ले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया को सभाध्यक्षतामा सम्पन्न गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत कम्लेश बिक सदस्य सचिवको भूमिकामा रहनुभएको थियो। गाउँसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार प्रवर्द्धन तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ।
उपाध्यक्ष हमालद्वारा प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक तथा विशेष अनुदान र राजस्व बाँडफाँडमार्फत रु ४२ करोड ८४ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त तथा समपूरक अनुदान र राजस्व बाँडफाँडमार्फत रु ६ करोड ६० लाख ५९ हजार ९१ रुपैयाँ ८० पैसा प्राप्त हुने जनाइएको छ।
गाउँपालिकाले आन्तरिक स्रोतबाट रु २५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। संघीय, प्रदेश तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयलाई समेट्दै कुल रु ४९ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसाको बजेट प्रस्तुत गरिएको हो।
प्रस्तुत बजेटमा कृषि उत्पादन वृद्धि, शिक्षा क्षेत्रको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, खानेपानी तथा सरसफाइ, सडक तथा अन्य पूर्वाधार विकास, रोजगार सिर्जना, युवा तथा महिला सशक्तीकरण लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभा सम्बोधन गर्दै अध्यक्ष रोकायाले सीमित स्रोत–साधनका बाबजुद नागरिकका आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने उद्देश्यसहित बजेट निर्माण गरिएको बताउनुभयो। उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण गाउँवासीको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो।
उपाध्यक्ष हमालले प्रस्तुत गर्नुभएको बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत समृद्ध पलाँता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
पलाँता गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई तीव्रता दिनुका साथै सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार