२०८३ बैशाख २२ गते मङ्गलवार

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद, दुई जनालाई सफाइ।



सुर्खेत — २०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा भएको नवराज विकसहित ६ युवाको सामूहिक हत्यामा संलग्न ठहर गर्दै उच्च अदालत सुर्खेतले २३ जनालाई जन्मकैदको फैसला सदर गरेको छ।

उच्च अदालतको इजलास न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जिल्ला अदालत रुकुम पश्चिमले दिएको जन्मकैदको फैसला सदर गरेका हुन्। दोषी ठहर भएकाहरूलाई २५ वर्षसम्म कैद सजाय सुनाइएको छ।

अदालतले उक्त घटनामा जातीय छुवाछुतसम्बन्धी अभियोगमा भने सबैलाई सफाइ दिएको छ। घटनाका बेला नाबालिग रहेको नवराज विककी प्रेमिका भनिएकी किशोरी र उनकी आमालाई पनि पूर्ण सफाइ दिइएको हो।

यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते गाउँलेहरूले जातीय विभेदकै कारण नवराज विकसहित ६ युवालाई कुटपिट गरी हत्या गरेको ठहर गर्दै चौरजहारी–८ का वडाध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो।

त्यस फैसलाविरुद्ध वडाध्यक्ष मल्लसहित २४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। पीडित पक्षबाट नवराज विकका बुवा मुनलाल नेपालीले पनि दुईवटा पुनरावेदन निवेदन दिएका थिए।

घटना जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराज विक प्रेमिकालाई लिन सोती गाउँ पुगेका बेला भएको हो। गाउँलेहरूले घरेलु हतियारसहित आक्रमण गर्दा नवराजसहित सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो।

उनीहरूको शव भेरी नदीमा फेला परेको थियो। यो घटनाले त्यतिबेला देशभर जातीय विभेदविरुद्ध ठूलो बहस जन्माएको थियो।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार