२०८३ जेष्ठ १८ गते सोमवार

केन्द्र स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्डमा सहभागी कर्णाली टोलीलाई भव्य बिदाइ



सुर्खेत,— जेष्ठ २०-२२ गतेसम्म काठमाडौको दशरथ रंगशालामा हुने केन्द्र स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाने कर्णाली प्रदेशका खेलाडी तथा अफिसियल टोलीलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै बिदाइ गर्नुभयो। उहाँले खेलकुदले प्रदेशको पहिचान र गौरव बढाउने उल्लेख गर्दै अनुशासित, मर्यादित र उत्कृष्ट प्रदर्शनमार्फत कर्णालीको नाम राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरूलाई आग्रह गर्नुभयो।
बिदाइ कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्द, परिषद्का सदस्यहरू पंखबहादुर मल्ल, भिम कुमारी भुसाल, किरण सापकोटा र गोरख शाही लगायत परिषद्का कर्मचारी, प्रशिक्षक, व्यवस्थापक तथा खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो।
केन्द्र स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न खेल विधाबाट छनोट भएका ११५ सदस्यीय टोली सहभागी हुँदैछ। टोलीमा खेलाडी, प्रशिक्षक (कोच), व्यवस्थापक तथा अफिसियलहरू समावेश रहेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते सोमवार