२०८३ बैशाख २२ गते मङ्गलवार

छ महिनादेखि तलब नपाउँदा कालीकोटका शिक्षकहरू संकटमा।



मान्म (कालीकोट)– खाँडाचक्र नगरपालिकाका ३९ सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू छ महिनादेखि तलब नपाउँदा गम्भीर आर्थिक संकटमा परेका छन्। तलब अभावका कारण दैनन्दिन खर्च चलाउन कठिनाइ भोग्नु परेको उनीहरूको गुनासो छ।

चुलिमालिका मावि, घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीका अनुसार शिक्षकहरूले असोजदेखि एक रुपैयाँ पनि पाएका छैनन्। “हाम्रो श्रमको उचित मूल्याङ्कन हुनुपर्छ। तलब नपाउँदा घरखर्च चलाउनै गाह्रो भएको छ,” उनले भने। शिक्षिका पवित्राकुमारी शाहीले पनि छ महिनासम्म तलब नपाउँदा मानसिक तनाव बढेको बताइन्।

नगर प्रमुख कमलबहादुर शाहीका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभाव र लेखापाल तालिममा गएकाले आर्थिक गतिविधि अवरुद्ध भएको छ। उनले शिक्षकहरूको तलब भुक्तानी छिटो गराउन निर्देशन दिइसकेको दाबी गरे। शिक्षा शाखा प्रमुख बलराज शाहीका अनुसार तलब निकासाका लागि फाइल लेखा शाखामा पुगेको भए पनि भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन।

शिक्षकहरूले आफ्नो श्रमको सम्मान गर्दै यथाशीघ्र तलब भुक्तानीको माग गरेका छन्। अन्यथा थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार