२०८३ बैशाख २२ गते मङ्गलवार

क्षेत्तडी पाटनमा ३ दिने दोस्रो स्कि प्रशिक्षण कार्यक्रम सम्पन्न ।



कालिकोट – कर्णाली प्रदेश स्कि संघको आयोजना तथा रास्कोट नगरपालिकाको समन्वयमा क्षेत्तडी पाटनमा ३ दिने दोस्रो स्कि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। खेल प्रशिक्षक मनराज सिम्खाडाको उपस्थितिमा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्थानीय युवासहित विभिन्न क्षेत्रका खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रशिक्षणमा सहभागीहरूले स्कि खेलका आधारभूत सीप सिक्नुका साथै आवश्यक सुरक्षाका उपायहरूबारे जानकारी प्राप्त गरे। प्रशिक्षक सिम्खाडाले स्कि खेलका प्रविधिहरू, खेलाडीहरूको सन्तुलन, गति नियन्त्रण तथा सुरक्षाका पक्षमा विशेष प्रशिक्षण दिएका थिए। सहभागीहरूले प्रशिक्षण निकै उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको अन्त्यमा, स्थानीय तह तथा आयोजकबीच स्कि खेललाई थप व्यवस्थित ढंगले अघि बढाउने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न निरन्तरता दिने विषयमा छलफल गरिएको थियो। आगामी वर्षहरूमा अझै ठूलो संख्यामा खेलाडी तथा पर्यटक सहभागी गराउने लक्ष्यसहित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस प्रशिक्षणले स्थानीय खेल प्रतिभा पहिचान गर्न, खेल पर्यटन प्रवर्द्धन गर्न तथा कर्णाली प्रदेशलाई स्कि खेलका लागि आकर्षक गन्तव्य बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार