कालिकोट, बैशाख १९ – कालिकोट जिल्लाको रास्कोट नगरपालिका–६ स्थित नमुना बस्तीमा ३३ केभी क्षमताको विद्युत् सब–स्टेशनको शिलान्यास नगर प्रमुख धर्मराज शाही ‘पोषण’ ले गरेका छन्। विद्युत् सेवा विस्तार तथा गुणस्तरीय आपूर्तिका लागि नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण कार्य सुरु भएको हो।
मान्मदेखि रास्कोटसम्म केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सुरु गरिएको उक्त सब–स्टेशन निर्माण कार्य करिब पाँच करोड लागतमा सुरुचि निर्माण सेवाले अगाडि बढाएको हो। शिलान्यास कार्यक्रम नगरपालिकाको आयोजना र नगर प्रमुख शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, वडा नं. ५, ६ र ७ का वडाध्यक्षहरू, नगर प्रहरी प्रमुख, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख शाहीले रास्कोटको दिगो विकासका लागि ऊर्जा पूर्वाधार अत्यन्त आवश्यक रहेको बताउँदै सब–स्टेशन निर्माणले अब रास्कोट मात्र नभई छिमेकी पालिका समेत विद्युत् सेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल विद्युत् प्राधिकरणको अनुसार, निर्माण सम्पन्न भएपछि रास्कोट क्षेत्रमा विद्युत् आपूर्तिमा आएको समस्याको दीर्घकालीन समाधान हुने छ।









प्रतिक्रिया दिनुहोस्