२०८२ फाल्गुन २३ गते शनिवार

कालिकोटमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ४२ हजारभन्दा बढी मत खस्यो



कालिकोट। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत निर्धारित कार्यतालिका बमोजिम कालिकोट जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको छ। जिल्लाभरका मतदान केन्द्रमा शान्त र व्यवस्थित वातावरणमा मतदान सम्पन्न भएको जनाइएको छ।
जिल्लामा कूल ४२ हजार ५२३ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ। मतदाताको उत्साहजनक सहभागिताले निर्वाचन प्रक्रियालाई थप सुदृढ बनाएको सरोकारवालाहरूले बताएका छन्।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाही ले निर्वाचन सफल बनाउन अहोरात्र खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेताकार्यकर्ता, मतदाता तथा सम्बन्धित सबै सरोकारवालाप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।
उनले लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन मतदाताले देखाएको जिम्मेवारीपूर्ण सहभागिताले कालिकोटमा लोकतन्त्रप्रतिको विश्वास झनै मजबुत भएको उल्लेख गरेका छन्। साथै, आगामी मतगणना प्रक्रिया पनि निष्पक्ष, पारदर्शी र मर्यादित ढंगले सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार