२०८३ बैशाख २२ गते मङ्गलवार

रास्कोट: नेपालकै पहिलो सहिद, बेपत्ता र फरक क्षमता भएकाको स्वास्थ्य बिमा गर्ने नगरपालिका।



चैत्र १९ ,
कालिकोटको रास्कोट नगरपालिकाले नेपालमै पहिलो पटक सहिद परिवार, बेपत्ता तथा फरक क्षमता भएका नागरिकहरूको स्वास्थ्य बिमा गरि उदाहरणीय कार्य सम्पन्न गरेको छ। नगरपालिकाले ९७ घरपरिवार तथा करिब ४४३ जनालाई समेट्दै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको छ, जसले समग्र स्वास्थ्य सुरक्षामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा सबै नागरिकको पहुँचभित्र ल्याउने लक्ष्यसहित अघि बढाइएको यो योजनाले विशेष गरी सहिद परिवार, बेपत्ता भएका व्यक्तिहरूका परिवार तथा फरक क्षमता भएकाहरूलाई आर्थिक रूपमा सुरक्षित बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ। यस कदमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्थाको अन्त्य गर्ने विश्वास गरिएको छ।

कालिकोट रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) ले यस योजनालाई सफल बनाउन स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा अझ बढी नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने प्रतिबद्धता जनाएका छन्। स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो निर्णयप्रति प्रशंसा व्यक्त गर्दै “अब स्वास्थ्य समस्या हुँदा आर्थिक अभावका कारण उपचार नपाउने अवस्था हट्नेछ” भन्दै खुसी व्यक्त गरेका छन्।

रास्कोट नगरपालिकाको यो नवीन प्रयासले अन्य स्थानीय तहहरूलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार