एजेन्सि – नेपाली राष्ट्रिय फुटबल टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै सिंगापुरको सिनियर पुरुष टोलीलाई १-० गोलअन्तरले पराजित गरेको छ। यो सिंगापुरविरुद्ध नेपालको पहिलो जित हो।
खेलको १२औं मिनेटमै जिलेस्पीले निर्णायक गोल गर्दै नेपाललाई अग्रता दिलाए। उनले मनिष डाँगीको दायाँ विंगबाट आएको लो पासलाई पहिलो टचमै जाली चुमाएका थिए। यो जिलेस्पीको राष्ट्रिय टोलीका लागि तेस्रो अन्तर्राष्ट्रिय गोल हो।
नेपालले खेलभरि आक्रामक प्रदर्शन गरे पनि अन्य अवसर सदुपयोग गर्न सकेन। अन्तिम क्षणमा सिंगापुरले उत्कृष्ट अवसर पाए पनि कप्तान किरण चेम्जोङको शानदार बचाउले नेपालको जित सुनिश्चित गर्यो।
यो जित प्रशिक्षक म्याट रसको पहिलो आधिकारिक खेलमा आएको हो। रसले आफ्नो डेब्यु खेलमै युवा मिडफिल्डर सुबास बम ठकुरीलाई राष्ट्रिय टोलीबाट पहिलो खेल्ने अवसर प्रदान गरे।
नेपाल अहिले एएफसी एसियन कप छनोटको तयारीमा छ। अब तेस्रो चरणमा नेपाल मलेसियासँग भिड्नेछ। सोही समूहमा भिएतनाम र लाओस पनि छन्। समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा स्थान सुरक्षित गर्नेछ।
सिंगापुरको समूहमा भने भारत, हङकङ र बंगलादेश छन्, जहाँ पहिलो खेलमा उनीहरू हङकङसँग प्रतिस्पर्धा गर्नेछन्।









प्रतिक्रिया दिनुहोस्