२०८३ बैशाख २२ गते मङ्गलवार

विद्यालय शिक्षा ऐनको मागमा शिक्षकद्वारा कक्षा १२ को परीक्षा बहिष्कार।



काठमाडौँ, २ गते वैशाख — विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ। महासंघले सोमबार जारी गरेको विज्ञप्तिमार्फत आगामी ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षामा शिक्षक सहभागी नहुने जानकारी गराएको हो।

सरकारले नयाँ शैक्षिक सत्रको सुरुआत गर्दै देशव्यापी भर्ना अभियान सञ्चालनमा ल्याए पनि महासंघले विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन जारी रहेको छ, जसको उद्देश्य विद्यालय शिक्षा ऐन जारी गराउनेमा केन्द्रित छ।

महासंघले निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा साथ दिन अनुरोध गरेको छ। साथै, देशभरका शिक्षक, प्रधानाध्यापक र विद्यालय कर्मचारीहरूलाई काठमाडौँमा जारी शैक्षिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुन आह्वान गरिएको छ।

शिक्षकहरूले आन्दोलनलाई अझ व्यापक बनाउँदै सरकारी उपेक्षाविरुद्ध दबाब सिर्जना गर्ने रणनीति लिएका छन्। तर विद्यार्थीहरूको परीक्षामा असर पर्ने खालका गतिविधिहरूप्रति भने सर्वसाधारण चिन्तित छन्।

सरकार र आन्दोलनरत शिक्षकबीच संवादको पहल आवश्यक देखिएको छ ताकि विद्यार्थीहरूको भविष्य संकटमा नपरोस्।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार