चैत्र २८- कालिकोट जिल्लाको महाबै गाउँपालिकामा आयोजित दुई दिने नि:शुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ। स्थानीय बासिन्दाको उल्लेखनीय सहभागितासँगै सम्पन्न भएको शिविरमा कुल ४५३ जनाको आँखा परीक्षण गरिएको थियो, जसमा ६७ जनाको सफल शल्यक्रिया समेत गरिएको छ।
शिविर हिमालय आँखा अस्पताल, पोखरा, Eye Care Foundation, ODA Foundation, नेत्र ज्योति संघ तथा आँखा उपचार केन्द्र कालिकोटको सहकार्यमा सञ्चालन गरिएको थियो।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले धेरै जनसमुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ। विशेषगरी आँखाको समस्या बोकेका वृद्धवृद्धा र अप्ठ्यारो परिस्थितिमा रहेका नागरिकहरूका लागि यो शिविर निकै प्रभावकारी सावित भएको छ।
शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साझेदार संस्था, चिकित्सक टोली, स्वयंसेवक, पत्रकार, सुरक्षाकर्मी, स्थानीय सरकार तथा महाबै गाउँपालिकावासी सबैलाई आयोजकले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन्।
यस्ता स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै जानु पर्ने आवश्यकता स्थानीयबासीले व्यक्त गरेका छन्।










प्रतिक्रिया दिनुहोस्