२०८३ बैशाख २२ गते मङ्गलवार

अन्तरजिल्ला सामाजिक सुरक्षा नविकरण सुरु



कालिकोट — महाबै गाउँपालिका स्थायी ठेगाना भएका तर हाल सुर्खेतमा बसोबास गरिरहेका सामाजिक सुरक्षा लाभग्राहीहरूलाई सेवा लिनका लागि अब गाउँसम्म धाउनुपर्ने बाध्यता हटेको छ। महाबै गाउँपालिकाले सोमबारदेखि सुर्खेतमै सेवा दिन सुरु गरेको छ।

बुढापाका, अशक्त तथा अशक्त वृद्धवृद्धालाई गाउँपालिकाको कार्यालयसम्म आउनु निकै कठिन हुने, यात्रा खर्च समेत बढ्ने, झन्झटिलो प्रक्रियाले उनीहरूलाई थप समस्या पर्ने देखेर गाउँपालिकाले नयाँ व्यवस्था ल्याएको हो।

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजनले सोमबार पत्रकारहरूसँग कुरा गर्दै जानकारी दिएअनुसार, सामाजिक सुरक्षा भत्ता पाउँदै आएका लाभग्राहीहरूको परिचय पत्र नविकरण तथा अन्य आवश्यक सेवा कार्यहरूका लागि हाललाई अस्थायी रूपमा सुर्खेतको कुमाइचोकमा सेवा कार्यालय सञ्चालन गरिएको छ।

वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरूलाई राहत मिलोस् भन्ने हेतुले हामीले स्थानीय तहको सेवा उपत्यकामा ल्याएका हौं, अध्यक्ष सिंहले भने, “यसले सेवाप्रवाहलाई सहज बनाउने मात्र होइन, राज्यप्रति विश्वास बढाउने काम पनि गर्नेछ।”

कार्यसञ्चालन तथा सेवा व्यवस्थापनको जिम्मेवारी मनराज कार्की र लालबहादुर सिंहलाई दिइएको छ। यी दुबै कर्मचारीहरूले नियमित रूपमा सेवा प्रवाह गर्नेछन्।

गाउँपालिकाले लाभग्राहीहरूलाई नेपाली नागरिकताको फोटोसहितको प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा चेकबुकको फोटो प्रतिलिपिसहित सम्बन्धित कार्यालयमा उपस्थित भई आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार