२०८३ बैशाख २२ गते मङ्गलवार

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तिलागुफाको तयारी सम्पन्न, पुनः उपाधि जित्ने लक्ष्य।



तिलागुफा, कालिकोट ।
पचालझरना गाउँपालिकामा बैशाख ३ देखि ५ गतेसम्म आयोजना हुन लागेको १५औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तिलागुफा नगरपालिकाले खेलकुद समितिसँगको समन्वयमा तयारी पूरा गरेको छ।

तिलागुफाले अघिल्लो वर्ष सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्ला विजेता बन्ने गौरव प्राप्त गरेको थियो। सोही उपलब्धि दोहोर्याउने लक्ष्यसहित यसपटक पनि तिलागुफा उच्च मनोबल र जोशका साथ मैदानमा उत्रन तयारीमा जुटेको हो।

नगर खेलकुद समिति र नगरपालिकाको सहकार्यमा खेलाडी छनोट, प्रशिक्षण, पोशाक, खेल सामग्री तथा सवारी व्यवस्थासमेत मिलाइएको छ। नगरका विभिन्न विद्यालयहरूमध्येबाट छानिएका खेलाडीहरूलाई लक्षित गर्दै एक हप्ते विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।

तिलागुफाका खेलाडीहरूले यसपटक दौड, भलिबल, कबड्डी, लङ जम्प, हाई जम्प, गोला फ्याँक (सटपुट), ज्याभलिन थ्रो, कराते लगायतका विभिन्न बिधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षक मनराज शाहीका अनुसार, “हामीले अघिल्लो वर्षको विजयी अनुभवका आधारमा प्रशिक्षक गरेका छौं। खेलाडीहरू अनुशासित, आत्मविश्वासी र विजयी लक्ष्यमा केन्द्रित छन्। उपाधि रक्षा गर्ने हाम्रो स्पष्ट उद्देश्य छ।”

प्रकाशित मिति : २०८१ चैत्र ३० गते शनिवार