२०८३ बैशाख २२ गते मङ्गलवार

पलाँता अस्पतालमा औषधिको चरम अभाव: निःशुल्क त परै जाओस्, शुल्क तिरेर पनि औषधि छैन ।



कालिकोटको चैत्र १४
पलाँता गाउँपालिका–९ मा रहेको पलाँता अस्पतालमा औषधि तथा आवश्यक उपकरणको चरम अभावका कारण प्रभावकारी सेवा दिन असमर्थ देखिएको छ। भौगोलिक रूपमा विकट भएकाले यहाँका बासिन्दाहरू अस्पतालसम्म पुग्न लामो यात्रा गर्न बाध्य छन्। तर, अस्पताल आइपुग्दा निःशुल्क औषधि पाइन त परै जाओस्, शुल्क तिरेर किन्न खोज्दा पनि औषधि नपाइने समस्याले बिरामीहरू थप समस्यामा परेका छन्।

स्वास्थ्यकर्मी छन्, तर औषधि छैन,

अस्पतालमा डाक्टर, नर्स, स्वास्थ्य सहायक (HA), ल्याब टेक्निसियन, ANM, CMA जस्ता स्वास्थ्यकर्मी कार्यरत छन्। तर, आवश्यक उपकरण र औषधिको अभावले उनीहरूलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको छ। अस्पतालमा जाँच गरे पनि बिरामीहरूलाई बाहिर मेडिकल पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य पारिन्छ, तर कतिपय अवस्थामा मेडिकल पसलमै पनि आवश्यक औषधि पाइँदैन।

निःशुल्क औषधि त सपना जस्तै, शुल्क तिरेर पनि पाउन गाह्रो,

नेपाल सरकारले सरकारी अस्पतालहरूमा निःशुल्क औषधि उपलब्ध गराउने नीति ल्याएको छ। तर, अस्पतालमा औषधि नै नभएकाले यो सुविधा नाम मात्रैको बनेको छ। समस्या यत्ति मात्रै छैन, बिरामीहरूले शुल्क तिरेर किन्न खोज्दा समेत अस्पतालमा औषधि उपलब्ध हुँदैन।

भौगोलिक विकटता: अस्पतालसम्म आउनै मुस्किल, आएर औषधि नपाउँदा झन् पीडा

पलाता गाउँपालिका भौगोलिक रूपमा अत्यन्त विकट छ। यहाँका अधिकांश बासिन्दाहरूलाई अस्पतालसम्म आउन एक दिनसम्म यात्रा गर्नुपर्ने हुन्छ। अप्ठ्यारो बाटो पार गरेर अस्पताल आइपुगेका बिरामीहरूलाई औषधि नपाएर निराश फर्कनुपर्ने अवस्था छ।

“नाम मात्रैको अस्पताल, सेवा शून्य” भन्दै स्थानीय आक्रोशित

स्थानीय बासिन्दाहरूका अनुसार अस्पतालको अवस्था एकदमै कमजोर छ। “नाम मात्रैको अस्पताल, सेवा सुविधाचाहिँ शून्य” भन्ने उनीहरूको गुनासो छ। सरकारले दिने निःशुल्क औषधि उपलब्ध छैन, शुल्क तिरेर पनि औषधि पाइँदैन भनेपछि बिरामीहरूलाई ठूलो समस्या भएको छ।

सरकारलाई तत्काल ध्यान दिन आग्रह

स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भए पनि दुर्गम क्षेत्रमा सरकारको उपस्थिति कमजोर देखिन्छ। स्थानीय जनताले अस्पतालमा पर्याप्त औषधि, आवश्यक उपकरण तथा पूर्वाधार तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्।

यदि समयमा नै अस्पताल व्यवस्थापन सुधार गरिएन भने बिरामीहरूले अझै गम्भीर समस्या झेल्नुपर्ने देखिन्छ। सरकार र सम्बन्धित निकायहरूले यसतर्फ गम्भीर ध्यान नदिए, पलाताका जनताले उपचारभन्दा बढी पीडा भोग्नुपर्ने अवस्था आउनेछ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते बिहिवार