२०८३ बैशाख २ गते बुधवार

राष्ट्रपति शिल्ड २०८२: तिलागुफाले समग्र उपाधि उचाल्यो, नरहरीनाथ र पलाँता प्रतिस्पर्धी।



पचालझरना, कालिकोट – बैशाख ६, २०८२:
पचालझरना गाउँपालिकाको पडेक्षामा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक भव्य समापन समारोहका साथ सम्पन्न भएको छ। पाँच दिनसम्म विविध खेल प्रतियोगितामा जिल्लाभरका आठ वटै स्थानीय तहका खेलाडीहरूले उत्कृष्ठ प्रदर्शन गर्दै आफ्नो प्रतिभा देखाएका थिए।

यसपटकको प्रतियोगितामा तिलागुफा नगरपालिकाले सुरुदेखि नै दबदबा कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएको छ। पदक तालिकामा तिलागुफाले १४ वटा स्वर्ण, ९ वटा रजत र ८ वटा कास्य पदक हात पार्दै पहिलो स्थान हासिल गर्‍यो।

प्रतियोगिताको समापन दिनसम्म दोस्रो र तेस्रो स्थानको लागि निकै कडा प्रतिस्पर्धा देखिएको थियो। अन्ततः नरहरीनाथ गाउँपालिकाले ७ स्वर्ण, ५ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान ओगट्न सफल भयो भने पलाँता गाउँपालिकाले ४ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै तेस्रो स्थानमा आफूलाई स्थापित गर्‍यो।

अन्य पालिकाहरूको प्रदर्शन पनि सराहनीय रह्यो। पचालझरना गाउँपालिका, जसले प्रतियोगिताको आयोजना गरेको थियो, उसले २ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेर चौथो स्थान हासिल गर्‍यो। खाँडाचक्र नगरपालिकाले १ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित पाँचौं स्थान पायो। त्यसपछि रास्कोट नगरपालिकाले १ स्वर्ण, २ रजत र ७ कास्य, महाबै गाउँपालिकाले १ स्वर्ण र २ रजत, तथा सान्नी त्रिवेणी गाउँपालिकाले १ रजत पदकसहित आफ्नो सहभागिता जनाएका थिए।

पदक तालिका यसप्रकार रहेको छ:

१. तिलागुफा नगरपालिका: १४ स्वर्ण, ९ रजत, ८ कास्य – प्रथम
२. नरहरीनाथ गाउँपालिका: ७ स्वर्ण, ५ रजत, ५ कास्य – दोस्रो
३. पलाँता गाउँपालिका: ४ स्वर्ण, १ रजत, १ कास्य – तेस्रो
४. पचालझरना गाउँपालिका: २ स्वर्ण, ४ रजत, २ कास्य
५. खाँडाचक्र नगरपालिका: १ स्वर्ण, ५ रजत, ३ कास्य
६. रास्कोट नगरपालिका: १ स्वर्ण, २ रजत, ७ कास्य
७. महाबै गाउँपालिका: १ स्वर्ण, २ रजत
८. सान्नी त्रिवेणी गाउँपालिका: – , १ रजत

समापन समारोहमा बोल्दै आयोजक प्रतिनिधिहरूले प्रतियोगिताले जिल्लाभित्र लुकेका खेलकुद प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। साथै, यस्ता प्रतियोगिताले नवप्रवेशी खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरिएको छ।

कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, खेल प्रशिक्षकहरू, सुरक्षाकर्मी तथा सयौं दर्शकहरूको उपस्थितिले प्रतियोगितालाई अझ भव्य बनाएको थियो। आगामी दिनहरूमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय बनाउने प्रतिबद्धता आयोजक पक्षले व्यक्त गरेको छ।

यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लामा खेलकुदको माध्यमबाट एकताको सन्देश प्रवाह गर्दै उत्साह, उमंग र सौहार्दता फैलाउने माध्यम बनेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार