कालिकोट, बैशाख ५
कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश शाहीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरू, एम्पायर, खेलाडी तथा खेलकुद क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैठकले जिल्लाको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेषगरी आगामी १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरहरिनाथ गाउँपालिकामा आयोजना गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको छ। यस निर्णयसँगै जिल्लाभरि खेलकुद गतिविधिलाई सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।
साथै, १५औं कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धमा पनि विस्तृत छलफल गरिएको थियो। छलफलपछि कालिकोट जिल्लाबाट सहभागिता जनाउने सम्पूर्ण खेलाडीहरूलाई खेल पोशाक, यातायात खर्च तथा बन्द प्रशिक्षणको व्यवस्था गरिने स्पष्ट गरिएको छ। खेलाडीहरूको तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यक आर्थिक तथा सामग्री सहयोग उपलब्ध गराउने निर्णय समेत बैठकमा गरियो।
१५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याएका सम्पूर्ण स्थानीय तहलाई विशेष धन्यवाद दिने प्रस्ताव पनि बैठकमा पारित गरिएको छ।
बैठकमा सहभागीहरूले यस्ता प्रतियोगिताहरूले युवा पुस्ताको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। जिल्ला स्तरदेखि प्रदेशस्तरसम्मको समन्वयमा खेलकुदको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन सकिने र यसले कालिकोटको खेल क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।









प्रतिक्रिया दिनुहोस्