२०८३ बैशाख २२ गते मङ्गलवार

तिलागुफाको उत्कृष्ट प्रदर्शन, राष्ट्रपति रनिङ शिल्ड तर्फ शतप्रतिशत सम्भावना।



पचालझरना, कालिकोट – बैशाख ५, २०८२:
पचालझरना गाउँपालिकाको पडेक्षामा सञ्चालन भइरहेको १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्कर्षतर्फ उन्मुख बन्दै गएको छ। प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा विभिन्न ५ इभेन्टहरू अझै बाँकी रहेका छन् भने हालसम्मको नतिजाले तिलागुफा नगरपालिका प्रतियोगितामा सर्वाधिक पदक जित्दै अग्रस्थानमा रहेको छ।

हालसम्मको पदक तालिका अनुसार तिलागुफाले १२ स्वर्ण पदक हात पारिसकेको छ। त्यसपछि नरहरीनाथ गाउँपालिकाले ६ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ। यस्तै, पचालझरना र पलाता गाउँपालिकाले समान २–२ स्वर्ण पदक प्राप्त गरेका छन्। खाँडाचक्र, महाबै र रास्कोटले समान १–१ स्वर्ण पदक जितेका छन्।

अझै बाँकी रहेका ५ खेलहरूमध्ये केहीमा अन्य पालिकाहरूले उत्कृष्टता देखाउने सम्भावना भए तापनि तिलागुफाको हालसम्मको दबदबालाई हेर्दा शिल्ड उपाधि उसैले उचाल्ने लगभग निश्चित देखिएको छ।

प्रतियोगिता संयोजक समितिका अनुसार बाँकी खेलहरू सम्पन्न भएसँगै समापन समारोह आयोजना गरिनेछ, जहाँ विजेता नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिनेछ। तिलागुफाको निरन्तर प्रदर्शनले सहभागीहरूमा उत्साह थपिएको छ भने अन्य प्रतिस्पर्धी पालिकाहरू आगामी वर्षका लागि अझ बलियो तयारीमा जुट्ने सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार