कालिकोट – जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाले स्थानीय स्तरमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गरी प्रतिभावान खेलाडी छनोट गरिरहेका छन्। तर, पलाँता गाउँपालिकाले बिना प्रतिस्पर्धा पुरानै खेलाडीको नाम सूची तयार पारेको छ, जसले नयाँ खेलाडीहरूलाई अवसरबाट बञ्चित गराएको छ।
कुनैबेला न्यून स्रोतसाधनका बाबजुद सरस्वती मावि थिर्पुले चौथो राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सम्पन्न गरेको थियो। दोस्रो पटक ११औं राष्ट्रपति रनिङ शिल्ड झन्डै ६० लाखको लागतमा सम्पन्न भयो, जहाँ पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावतसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। तर, अहिले सोही गाउँपालिकामा खेलकुदप्रति गम्भीर उपेक्षा देखिएको छ।
स्थानीय खेलाडीहरू भन्छन्, “रनिङ शिल्ड नगरी पुरानै खेलाडी छनोट गर्दा नयाँ प्रतिभाले कसरी अवसर पाउने?” खेलकुद समितिको निष्क्रियता, सरकारको लगानी अभाव र नेतृत्वको उदासीनताका कारण पलाँताका खेलाडीहरू पछाडि परिरहेका छन्। खेलकुद क्षेत्रमा पारदर्शी छनोट प्रक्रिया नअपनाएसम्म पलाँताका खेलाडीहरूले ठूला प्रतियोगितामा अवसर पाउने सम्भावना न्यून हुनेछ।
अब २०७१ चैत्र २७-२९ मा पचालझरना गाउँपालिकामा १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदैछ। तर, पलाँताबाट प्रतिस्पर्धी खेलाडी पठाउनकै लागि पनि उचित छनोट प्रकिया अपनाइएको छैन। खेलकुदप्रति गम्भीर चासो नदिने हो भने यहाँबाट नयाँ खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्ने सम्भावना थप कमजोर बन्दै जानेछ









प्रतिक्रिया दिनुहोस्