२०८३ बैशाख २ गते बुधवार

कर्णालीलाई विशेष प्राथमिकता दिन सरकारसँग सांसदहरूको अपिल



काठमाडौ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले प्रदेशमा विकास निर्माणको जिम्मा लिएर पनि समयमै काम पूरा नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग माग गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कर्णालीका सांसदहरूले अधुरा र अलपत्र अवस्थामा रहेका विकास आयोजनाबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउँदै तत्काल कदम चाल्न आग्रह गरेका हुन्।
छलफलमा कर्णाली प्रदेशको विकास, बजेट वितरण तथा वर्षायामको पूर्वतयारीका विषयमा समेत कुराकानी भएको नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिए।
त्यसक्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले कर्णालीका लागि बजेट माग्दा संसद्मा असन्तुष्टि देखिने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले मनपरी र असन्तुलित ढंगले बजेट बाँडफाँट गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्रीसँग आग्रह गरे।
सांसदहरूले कर्णालीको समग्र विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए। साथै, कर्णालीको पहिलो सरकारले ल्याएको दीर्घकालीन गुरुयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको पनि उनीहरूको भनाइ थियो।
यसैबीच, वर्षायाम नजिकिँदै गएकाले कर्णालीको विकट भौगोलिक अवस्थालाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। ग्रामीण क्षेत्रमा वर्षामा सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले समयमै बाटो खुला राख्न डोजर व्यवस्थापन गर्नुपर्ने सुझाव पनि उनीहरूले दिएका थिए।
सांसदहरूले आगामी बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार