२०८२ फाल्गुन २३ गते शनिवार

एमाले ११ औँ महाधिवेशन: अध्यक्षमा ओली, महासचिवमा शंकर पोखरेल विजयी



काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै स्पष्ट जित हात पारेका हुन्।

मतगणनाको अन्तिम नतिजा अनुसार अध्यक्ष ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोखरेलले ५६३ मत मात्र प्राप्त गरेका छन्। यससँगै ओली तेस्रो कार्यकालका लागि पनि एमालेको सर्वोच्च नेतृत्वमा रहने भएका छन्।

यस्तै, पार्टीको महत्वपूर्ण पद मानिने महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। महासचिव पदका लागि भएको प्रतिस्पर्धामा पोखरेलले १ हजार २२८ मत ल्याउँदै अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९८ मत प्राप्त गरेका छन्।

महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। अध्यक्ष र महासचिव दुवै पदमा प्रतिस्पर्धा हुनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा लिइएको नेताहरूले बताएका छन्।

मत परिणाम सार्वजनिक भएसँगै महाधिवेशन स्थलमा विजयी उम्मेदवारका समर्थकहरूले नाराबाजी गर्दै खुसी व्यक्त गरेका थिए। विजयपछिको सम्बोधनमा अध्यक्ष ओलीले पार्टीलाई अझ एकताबद्ध बनाउँदै संगठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको भरोसा बलियो बनाउँदै आगामी राजनीतिक चुनौतीहरूको सामना सामूहिक रूपमा गरिने बताएका छन्।

११ औँ महाधिवेशनबाट अध्यक्ष र महासचिवसहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयन प्रक्रिया पनि अघि बढाइएको छ। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको नीति, कार्यक्रम र भावी रणनीतिलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार