२०८३ बैशाख २२ गते मङ्गलवार

सुदूरपश्चिमको दमदार प्रदर्शन: विराटनगर ७८ रनमै अलआउट, फाइनल यात्रा सुनिश्चित



२३ मंसिर, काठमाडौं।
सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गर्न सफल भएको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्समाथि एकपक्षीय जित निकाल्दै उपाधि नजिक पुगेको हो।

पहिलो संस्करणमै पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनलमा पुग्ने पहिलो टिम बन्दै निरन्तरता कायम गर्न सफल भयो। साथै, लिग चरणको अन्तिम खेलमा विराटनगरसँग व्यहोरेको हारको मीठो बदला लिँदै सुदूरपश्चिमले यसपटक दबदबा स्थापित गर्‍यो।

दुई बलिया टिमबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको क्वालिफायरमा सुदूरपश्चिमको बलिङ र फिल्डिङ अपूर्व रह्यो। १५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो। सुदूरपश्चिमका बलरहरूको सटीक लाइन–लेंथ सामु विराटनगरको शीर्ष तथा मध्यक्रम निरिह देखियो।

विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले मात्र प्रतिरोध गर्दै २९ बलमा ३६ रन बनाए, जसमा ३ चौका र १ छक्का समावेश थियो। अन्य ब्याटरमध्ये मर्चेन्ट डे लाङले १५ र बसिर अहमदले १२ रन जोडे। कप्तान दीपेन्द्र सिंह ऐरी ३ रनमै रनआउट हुँदै दबाब हटाउन सकेनन्। हर्मीत सिंहले ११ बलमा १४ रन थपे पनि लगातार विकेटझर्ने क्रममा टिम उभिन सकेन।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले उत्कृष्ट इनिङ्स खेल्दै ६३ रन बनाए। उनी १९औँ ओभरको अन्तिम बलमा आउट भए। आरिफ शेखसँग मिलेर उनले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरे। आरिफ अन्तिम ओभरमा पवेलियन फर्किए।

विराटनगरका बलरमध्ये मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट हात पारे। सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट लिए। डे लाङले ४ ओभरमा २३ रन दिए।

सुदूरपश्चिम अब उपाधि जित्ने सबभन्दा बलियो दाबेदारका रूपमा फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार