कालीकोट — जिल्ला प्रशासन कार्यालय कालीकोटले सेवा लिन आएका सर्वसाधारणलाई तत्कालीन स्वास्थ्य समस्या बुझ्ने, प्राथमिक सल्लाह दिने र आवश्यक परे उचित स्वास्थ्य संस्थामा पठाउने उद्देश्यले ‘सेवाग्राही स्वास्थ्य परामर्श कक्ष’ सञ्चालनमा ल्याएको छ। सरकारी संरचनामा कुनै अतिरिक्त भार नपर्ने गरी कार्यालयकै आन्तरिक स्रोत, स्वास्थ्यकर्मीको स्वेच्छिक पहल र सरोकारवालाको सहकार्यमा यो सेवा हिजो आइतबारबाट औपचारिक रूपमा सुरु गरिएको हो।
आज पहिलो दिनमै कार्यालयमा आएका अधिकांश सेवाग्राहीले सो कक्षबाट प्राथमिक स्वास्थ्य परामर्श लिएका छन्। रक्तचाप जाँच, सामान्य शारीरिक परीक्षण, स्वास्थ्यसम्बन्धी समस्या सुन्ने तथा आवश्यक सुझाव दिने कार्यहरू निरन्तर भइरहेको प्रशासनले जनाएको छ। सेवाग्राहीहरूलाई कार्यालयमै स्वास्थ्यजाँच सुविधा प्राप्त भएपछि भौतिक रूपमा अस्पताल धाउनुपर्ने झन्झट कम भएको उनीहरूको प्रतिक्रिया छ।
परामर्श कक्ष नियमित रूपमा सञ्चालन गर्ने तयारी कार्यालयले गरेको छ। “साना–ठूला कामका लागि प्रशासन कार्यालय आउने सेवाग्राहीहरूलाई प्राथमिक स्वास्थ्य सहयोग उपलब्ध गराउन सके जनताले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाह अझ प्रभावकारी बन्ला,” कार्यालयका अधिकारीहरूले बताएका छन्।
स्थानीय स्तरमै ‘न्यून लागतमा अधिकतम सेवा’ पुर्याउने उद्देश्यले अघि बढाइएको यस अभियानलाई सर्वसाधारणले सकारात्मक रूपमा स्वागत गरेका छन्। प्रशासन कार्यालयले आगामी दिनमा स्वास्थ्य सचेतना, नियमित चेकजाँच र आवश्यक परे विविध स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने तयारी गरेको छ।
यसरी कालीकोटमा सुरु गरिएको सेवाग्राही स्वास्थ्य परामर्श कक्षले स्थानीय सेवाग्राहीको स्वास्थ्य सुरक्षामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्