मकवानपुर – बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ। सोमबार काठमाडौंको कलंकीस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
विषादी सेवनको आशंका
धादिङ धुनीबेसी-९ निवासी ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको कोठामा विषादी सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोमबार दिउँसो २ बजे विषादी सेवन गरेका उनी अचेत अवस्थामा फेला परेका थिए। तत्काल अस्पताल लगिए पनि साँझ ६:३८ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
सहकारी काण्ड र सुसाइड नोट
थापाको साथबाट एक पेजको पत्र बरामद भएको प्रहरीले जनाएको छ। पत्रमा सहकारीको रकम लेनदेनसँग आफ्नो नाम जोडिएको र त्यसले बेइज्जत महसुस गरेकाले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ।
सुमेरु सहकारी प्रकरणसँग थापाको नाम जोडिएको थियो। केही दिनअघि सार्वजनिक अडियो क्लिपमा थापाले सहकारीको विवाद मिलाउने विषयमा छलफल गरेको सुन्न सकिन्छ। सो सहकारीलाई गत पुस २८ गते समस्याग्रस्त घोषणा गरिएको थियो। सहकारीले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेको छ।
अन्तिम गतिविधि
थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँग काठमाडौं गएका थिए। आइतबार छोरीको जन्मोत्सव मनाएर राति १० बजेपछि परिवारको सम्पर्कमा थिएनन्। उनी मन्त्री श्रेष्ठको सचिवालयमा लामो समयदेखि कार्यरत थिए।
प्रहरी अनुसन्धान जारी
मृतकको शव टिचिङ अस्पतालमा राखिएको छ। कालिमाटी प्रहरी वृत्तले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार अडियो क्लिपको परीक्षणपछि थप प्रक्रिया अघि बढाइनेछ।










प्रतिक्रिया दिनुहोस्