२०८२ फाल्गुन २४ गते आइतवार

कालीकोटमा नेकपाको आन्तरिक संघर्ष समाप्त, चुनावी माहोल अनुकूल बन्दै



कालिकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता जीवन बुढाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका बुढाले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको बागी उम्मेदवारी अन्ततः फिर्ता भएको हो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटबाट नेकपाका आधिकारिक उम्मेदवार बनेका शाहीविरुद्ध पार्टीकै नेता बुढाले बागी उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन आज बुढाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएका हुन्। शाहीले पटक–पटक अवसर पाइसकेको भन्दै पार्टीभित्र असन्तुष्टि जनाउँदै बुढाले बागी उम्मेदवारी दिएका थिए।

तर नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलपछि पार्टी एकताको सन्देश दिँदै बुढा उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्। सो छलफलमा पार्टी हित, चुनावी रणनीति र संगठनात्मक एकतालाई प्राथमिकता दिइएको बताइएको छ।

बागी उम्मेदवारी फिर्ता भएसँगै कालीकोटमा नेकपाको आन्तरिक विवाद मत्थरिएको छ भने महेन्द्रबहादुर शाहीको पुनः संसद प्रवेशको सम्भावना बलियो बनेको छ। स्थानीय स्तरमा पनि पार्टी एकताले चुनावी माहोल थप अनुकूल बनेको नेताहरूको भनाइ छ।

शाही यसअघि २०७० सालको संविधानसभा सदस्य, २०७४ सालको प्रदेशसभा सदस्य तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भइसकेका अनुभवी नेता हुन्। उनको राजनीतिक अनुभव र संगठनात्मक पकडले कालीकोटमा नेकपालाई थप बल पुग्ने विश्लेषण गरिएको छ।

पार्टीभित्र देखिएको असहमतिलाई संवादमार्फत समाधान गर्दै अघि बढ्नु सकारात्मक सन्देश भएको भन्दै राजनीतिक वृत्तमा यस घटनालाई महत्त्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार