२०८२ फाल्गुन २४ गते आइतवार

जनप्रतिनिधि र कर्मचारीले गरे पत्रकार बिरेन्द्र आचार्यको परिवारलाई आर्थिक सहयोग



कालीकोट — सुर्खेतको बिरेन्द्रनगरमा हालै मोटरसाइकल दुर्घटनामा परि निधन भएका पत्रकार बिरेन्द्र आचार्यको परिवारलाई महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह लगायतका जनप्रतिनिधि र कर्मचारीद्वारा १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। १३ औं दिनको पुण्यतिथिका कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको उपस्थितिमा गाउँपालिका वरिष्ठ लेखापाल मलिम रावतले सहयोग रकम परिवारजनलाई हस्तान्तरण गरेका हुन्।

प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेशन म्यानेजरका रूपमा परिचित आचार्यको असामयिक निधनले जिल्ला तथा प्रदेशभरको पत्रकारिता, संचार तथा सामाजिक क्षेत्र शोकमग्न बनेको छ।

गत मंसिर १२ गते सुर्खेतको बिरेन्द्रनगर–२, वडा कार्यालय अगाडिको सडकखण्डमा मोटरसाइकल (पा. ६ प १७९५) र स्कुटर (सु. ६ प २३३६)बीच भएको ठक्करमा गम्भीर घाइते भएका आचार्यको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पत्रकारितामार्फत जनमुद्धा उठाउँदै आएका आचार्यको निधनले अपूरणीय क्षति पुगेको भन्दै पार्टी, पत्रकार महासङ्घ, स्थानीय तह तथा सर्वसाधारणले गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

महावै गाउँपालिकाले स्व. आचार्यको योगदानको कदर गर्दै परिवारलाई थप सहजीकरण तथा आवश्यकता अनुरूपका सहयोगका कार्यक्रम निरन्तर अघि बढाइने प्रतिबद्धता पनि गरेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार