२०८२ फाल्गुन २३ गते शनिवार

पलाँता गाउँपालिकामा शिक्षक संगठनको भेला तथा प्रशिक्षण सम्पन्न, शैक्षिक सुधारमा जोड



कालिकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन, पलाँता गाउँ कार्य समितिद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) कालिकोट जिल्ला इन्चार्ज जीवन बुढा रहनु भएको थियो।

कार्यक्रममा विशेष आतिथ्यतामा नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र ‘ख’ का संयोजक मानबहादुर भण्डारी, पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकाया, संगठनका जिल्ला अध्यक्ष कलबहादुर भण्डारी, माओवादी केन्द्र पलाँता उपाध्यक्ष विमबहादुर बम, गाउँ पार्टी सचिव सर्जन बुढा पाण्डव, पार्टी कोषाध्यक्ष भीमप्रसाद न्यौपाने, शिक्षक शहीद स्मृति केन्द्रका जिल्ला अध्यक्ष नारायणसिंह बमलगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष सर्जन प्याकुरेलले गर्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष धनकर्ण विश्वकर्माले गर्नुभएको थियो।

गुणस्तरीय शिक्षामा संगठनको प्रतिबद्धता

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवन बुढाले एकीकृत अखिल नेपाल शिक्षक संगठन अन्य संगठनभन्दा फरक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो। “शिक्षक संगठनको जिम्मेवार भूमिका बिना शिक्षा क्षेत्रमा सुधार सम्भव छैन,” उहाँले भन्नुभयो।

त्यस्तै, अन्य वक्ताहरूले शिक्षक संगठनले आफ्नो पेशाप्रतिको दायित्वलाई अझ गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले शैक्षिक सुधारका लागि विद्यालयमा अनुशासन, शिक्षकको व्यावसायिक दक्षता र विद्यार्थीमैत्री वातावरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

शिक्षकलाई जिम्मेवार बनाउने लक्ष्य

कार्यक्रममा सहभागीहरूले आगामी दिनमा शिक्षक संगठनले विद्यालय सुधार, गुणस्तरीय शिक्षाको प्रवर्धन र समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार