२०८३ बैशाख २१ गते सोमवार

उपविजेता कालिकोटलाई CAN कर्णाली द्वारा चयनमा अन्याय।



कर्णाली प्रदेश, कालिकोट — हालै सम्पन्न यू-१६ कर्णाली प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा कालिकोट जिल्ला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्ने सफलता प्राप्त गरेको थियो । सामूहिक खेल कौशल, लगनशीलता र समर्पणका साथ मैदानमा उत्रिएको कालिकोट टोलीले आफ्नो प्रदर्शनबाट सबैको ध्यान खिच्न सफल भएको थियो।

तर, यति सशक्त प्रदर्शनका बाबजुद पनि कर्णाली प्रदेश टिममा कालिकोटबाट मात्र एक खेलाडीको छनोट हुनु खेलप्रेमीहरूका लागि निराशाजनक र भेदभावपूर्ण निर्णयका रूपमा देखा परेको छ।

प्रदेश टिममा जिल्लागत रूपमा खेलाडी चयन यस्तो छ:

सुर्खेत: ९ खेलाडी

रुकुम: २ खेलाडी

सल्यान: २ खेलाडी

दैलेख: २ खेलाडी

कालिकोट: १ खेलाडी

उपविजेता टिम कालिकोटको योगदान र समग्र टिमको प्रयासलाई बेवास्ता गर्नु अन्यायपूर्ण मात्र नभई युवा खेलाडीहरूको मनोबलमा प्रतिकूल असर पार्न सक्ने चिन्ता अभिभावक, प्रशिक्षक र स्थानीय खेलकर्मीहरूले व्यक्त गरेका छन्।
छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइयोस्। सबै जिल्लाका खेलाडीहरूको प्रतिभा र मेहनतको सम्मान गरियोस्। भन्दै कालिकोट क्यान सदस्य पवन बमले आवाज उठाएका छन् । उनी भन्छन् उपविजेता बनेको कालिकोटलाई यत्रो अन्याय गरिनु हाम्रो घोर आपत्ति छ । खेल प्रदर्शन गर्दा उत्कृष्ट गर्ने तर छनोट गर्दा हिजोकै कर्णालीलाई उपेक्षित गरेको जस्तो गर्ने कर्णाली क्यानले कालिकोटका खेलाडीका लागी घोर अन्याय गरेको छ ।

खेलमा निष्पक्षता र समान अवसरको सुनिश्चितता नै दीर्घकालीन विकासको आधार हो भन्नेमा जोड दिँदै, स्थानीय समुदायले माग गरेको छ कि प्रदेश टिम कुनै एक जिल्लाको प्रतिनिधि जस्तो नभई सम्पूर्ण कर्णाली प्रदेशको सन्तुलित प्रतिनिधित्व होस्। कालिकोटका सम्पुर्ण खेलाडीहरुको चाहाना भएको बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शनिवार