२०८३ बैशाख २२ गते मङ्गलवार

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पचालझरनामा भोलिदेखि सुरु।



कालिकोट, २ वैशाख।
कालिकोट जिल्लाको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पचालझरना गाउँपालिकाको पडेक्षा खेलमैदानमा भोलिदेखि सुरु हुने भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा पचालझरना गाउँपालिकाको सहकार्यमा हुने यो प्रतियोगिता वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ।

विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाउँदै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको हो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतियोगितामा कालिकोट जिल्लाका सबै स्थानीय तह — गाउँपालिका र नगरपालिका — बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कराते, भलिबल, कबड्डी, एथ्लेटिक्स लगायतका खेलहरू समावेश गरिएका छन्।

पचालझरना गाउँपालिकाले प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी पूरा गरिसकेको जनाएको छ। स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा विभिन्न संघसंस्थाहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

गाउँमै यस्ता प्रतियोगिता हुँदा विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र खेलकुदप्रतिको लगाव वृद्धि हुने तथा प्रतिभावान खेलाडीको पहिचान गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।

प्रतियोगिताको उद्घाटन समारोहमा जिल्लाका प्रमुख प्रशासनिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ। खेलाडीहरूका लागि स्वास्थ्य, सुरक्षा, खानेपानी र आवास व्यवस्थापनको सम्पूर्ण तयारी गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार