सुर्खेत, जेठ १७ — कर्णाली प्रदेश आई.टि.एफ. तेक्वान्दो संघको आयोजनामा सञ्चालन भएको दोस्रो कर्णाली प्रदेशस्तरीय आई.टि.एफ. तेक्वान्दो एड्भान्स तालिम कार्यक्रम–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
जेठ १५ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित कभर्ड हल (रङ्गशाला) मा सुरु भएको तीनदिने तालिममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका १०२ जना खेलाडी तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। तालिमले खेलाडीहरूको प्राविधिक क्षमता अभिवृद्धि, तेक्वान्दोको आधुनिक प्रविधि तथा खेलकौशल विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमका सभाध्यक्ष कर्णाली प्रदेश आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष होम बहादुर सुनार रहनुभएको थियो भने प्रमुख अतिथि कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्द रहनुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रविन चन्दले कर्णाली प्रदेशमा खेलकुदको विकासका लागि यस्ता सीपमूलक तथा उन्नतस्तरका तालिमहरू आवश्यक रहेको बताउनुभयो। उहाँले तेक्वान्दो खेलमार्फत अनुशासन, आत्मविश्वास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता विकास हुने उल्लेख गर्दै खेलाडीहरूलाई निरन्तर अभ्यास र मेहनत गर्न आग्रह गर्नुभयो।
सभाध्यक्ष होम बहादुर सुनारले तालिम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, खेलाडी, अभिभावक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रदेशभर तेक्वान्दो खेलको विस्तार र गुणस्तरीय प्रशिक्षणलाई प्राथमिकता दिइने बताउनुभयो।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सञ्चालन भएको उक्त तालिमले प्रदेशका खेलाडीहरूलाई थप दक्ष, प्रतिस्पर्धी र सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ।









प्रतिक्रिया दिनुहोस्