महाबै गाउँपालिका–१ कतम्पूरस्थित श्री जगनाथ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोशाक (ट्रयाक सुट) वितरण गरिएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा ११० जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापक टोप बहादुर शाहीको विशेष पहल र अनुरोधमा कोपिला भ्याली सेवा समाज को आर्थिक सहयोगमा उक्त पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक टोप बहादुर शाहीले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको स्थानीय अभिभावकहरूले बताएका छन्। प्रधानाध्यापकको जिम्मेवारी सम्हालेदेखि नै विद्यालयलाई व्यवस्थित, बालमैत्री र गुणस्तरीय शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित विभिन्न सुधारका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
यसअघि पनि विद्यालयमा बालमैत्री कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री व्यवस्थापन तथा अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउने कार्यमा प्रधानाध्यापक शाहीले विशेष चासो दिएका थिए। विद्यार्थीको शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत उहाँ सक्रिय रहँदै आएको बताइएको छ।
लामो समयदेखि शिक्षण पेशामा आबद्ध शाहीले विभिन्न विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शैक्षिक क्षेत्र सुधारमा योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा विद्यालयलाई क्रमशः नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएका छन्।
कार्यक्रममा उपस्थित अभिभावक तथा जनप्रतिनिधिहरूले विद्यालयको शैक्षिक सुधार, अनुशासन र व्यवस्थापनमा भइरहेको सकारात्मक परिवर्तनप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस्