२०८३ जेष्ठ १९ गते मङ्गलवार

कालीकोटमा ४२० मेगावाटको विशाल जलविद्युत् आयोजना निर्माण सुरु



कालीकोट- जिल्लाको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४२० मेगावाट क्षमताको ठुलो जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। शुक्रबार आयोजित विशेष समारोहबीच आयोजनाको पावरहाउस तथा सुरुङ (टनेल) निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा कमल बहादुर शाही, गोकर्णराज सुयल, हिम बहादुर खत्री, वडा नं. ८ का वडा अध्यक्ष नन्द बहादुर मल्ल तथा आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो।
ऊर्जा तिला पावर कम्पनी प्रा.लि. द्वारा निर्माण हुन लागेको यस आयोजनाको अनुमानित लागत करिब ७० अर्ब रुपैयाँ रहेको बताइएको छ। आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीका अनुसार आयोजनासम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया सम्पन्न भइसकेको छ भने अब सुरुङ खन्ने (Tunnel Excavation) कार्य तीव्र रूपमा अगाडि बढाइनेछ।
आयोजनाको सुरुङ तिलागुफा नगरपालिका को धनाडाबाट सुरु भएर सेराबाडा मा निस्किनेछ। मुख्य विद्युत् गृह (पावरहाउस) पनि सेराबाडामै निर्माण गरिने गरी योजना तयार गरिएको छ।
आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई मुआब्जा वितरण गर्ने कार्यसमेत जारी रहेको जानकारी दिइएको छ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख कमल बहादुर शाहीले आयोजना कर्णाली प्रदेशकै आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। “यस आयोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै सडक, पूर्वाधार र आर्थिक गतिविधिमा उल्लेखनीय परिवर्तन ल्याउनेछ,” उनले बताए।
तिला नदी को पानी उपयोग गरी निर्माण हुन लागेको यस जलविद्युत् आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजनाको शिलान्याससँगै सेराबाडा तथा आसपासका स्थानीयवासीहरू विकास र आर्थिक गतिविधि बढ्ने आशामा उत्साहित बनेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार