समय कहिल्यै स्थिर रहँदैन। पद, शक्ति र सत्ता दीर्घकालीन हुँदैनन्, तर इमान र प्रतिष्ठा भने सधैँ जीवित रहन्छ। जसले पदमा रहँदा जनताको मन जित्छ, उसलाई पद गुमे पनि जनताले आदर गर्छन्। तर जसले राजनीति स्वार्थ, परिवारवाद र पदको चरम दुरुपयोग गर्छ, अन्ततः उसले पद मात्र होइन, प्रतिष्ठा पनि गुमाउँछ। आज नेपालमा यही पीडादायी सत्य राजनीतिक दलका नेताहरूले भोगिरहेका छन्।
जनता निराश र असन्तुष्ट
नेपालका राजनीतिक दल र नेताहरूको व्यवहारका कारण नेपाली जनतामा गहिरो निराशा छाएको छ। दशकौँ अघि राजनीति जनताको आशा, सपना र मुक्तिको बाटो थियो। तर अहिले राजनीति कुर्सी, सत्ता र लाभको खेल बनेको छ। नेताहरू संसद वा सिंहदरबारभित्र मात्र सीमित रहे, तर गाउँका विकट बस्ती, किसान, मजदुर, विद्यार्थी र युवाको दुःख–पीडामा पुग्न सकेनन्।
जनतालाई रोजगारी चाहिएको छ, किसानलाई पसिनाको उचित मूल्य चाहिएको छ, विद्यार्थीलाई भविष्यको स्पष्ट बाटो चाहिएको छ। तर नेताहरूको प्राथमिकता आफ्नै परिवार, दलको स्वार्थ र सत्ताको लोभ मात्र रह्यो। बारम्बार विश्वास टुट्दा जनता अब केवल निराश मात्र छैनन्, आक्रोशले भरिएका छन्।
युवाको आक्रोश
युवाहरू देशको मेरुदण्ड हुन्। उनीहरूको हातमा शक्ति, विचार र क्षमता छ। तर यस शक्तिलाई सकारात्मक बाटो देखाउन राज्य असफल भयो। युवाहरू बेरोजगार भए, परदेशिन बाध्य भए, आफ्नै देशमा भविष्यको उज्यालो देख्न सकेनन्। यसरी निराश युवाहरूको मनमा राजनीति प्रती वितृष्णा बढ्दै गयो। यो वितृष्णा अब चुपचाप बस्ने अवस्थामा छैन, विद्रोहको रूप लिन थालेको छ।
नेताहरूको स्वार्थी राजनीति
राजनीतिक नेतृत्वले राष्ट्रभन्दा पार्टीलाई प्राथमिकता दियो। जनता भन्दा पदलाई महत्व दियो। आन्दोलनको नेतृत्व गरेर जनताको विश्वास जित्नेहरू सत्तामा पुगेपछि जनताकै माग बिर्सन थाले। खोक्रा भाषण, असत्य वाचा र भ्रष्टाचारले गर्दा जनताले राजनीति भनेको केवल धन्दा हो भन्ने बुझ्न थालेका छन्। यस्तो अवस्थामा राजनीतिप्रति वितृष्णा हुनु स्वाभाविक हो।
विद्रोहको आगो
जब जनता धोका, अन्याय र शोषण सहन सक्दैनन्, त्यतिबेला उनीहरूको मनमा विद्रोहको आगो प्रज्वलित हुन्छ। यो विद्रोह केवल सडकमा नाराबाजी मात्र होइन, सोचमा परिवर्तन हो। जनता अब अन्धाधुन्ध विश्वास गर्दैनन्। उनीहरूले जवाफदेही नेतृत्व खोज्छन्। यदि नेतृत्व जवाफदेही भएन भने यही विद्रोहको आगोले भ्रष्टाचार, स्वार्थ र अन्यायलाई भस्म पार्नेछ।
आत्मसमीक्षाको आवश्यकता
अब आत्मसमीक्षा गर्ने समय आएको छ। आत्मसमीक्षा भनेको केवल भाषणमा होइन, व्यवहारमा देखाउनुपर्ने कुरा हो। नेताहरूले कुर्सीका लागि होइन, राष्ट्र र जनताका लागि काम गर्नुपर्छ। जनताको पीडा बुझेर समाधान गर्ने बाटो देखाउनुपर्छ। युवासँगै संघर्षमा उभिनुपर्छ, किसानसँगै पसिना बगाउनुपर्छ, मजदुरसँगै श्रममा जोडिनुपर्छ।
असल राजनीतिका आधार
साँचो राजनीति भनेको सेवा हो, त्याग हो, समर्पण हो—पद, शक्ति वा सम्पत्तिको खेल होइन। नेतृत्वले यो कुरा बुझेर व्यवहारमा उतार्न सके मात्र राजनीति माथि विश्वास पुनःस्थापित हुन्छ। यदि बुझिएन भने राजनीति प्रती वितृष्णा अझ बढ्नेछ, र त्यो वितृष्णाबाट जन्मिएको विद्रोहको आगोबाट नयाँ इतिहासको स्थापना हुनेछ।
नेपालका जनता धैर्यवान छन्, तर अनन्तकालसम्म धैर्य गर्न सक्दैनन्। नेताहरूले यो बुझ्न जरुरी छ। जनता नै राजनीति र राष्ट्रको मूल आधार हुन्। जनता बिना राजनीति निरर्थक हुन्छ।
यदि नेतृत्वले समयमै आफ्नो बाटो सच्याएन भने राजनीति वितृष्णाबाट उत्पन्न भएको विद्रोहको आगोले पुरानो स्वार्थी राजनीति प्रणालीलाई भस्म पार्नेछ र नयाँ न्यायपूर्ण, पारदर्शी र जनमुखी राजनीति जन्मिनेछ।
लेखक-राजन कठायत
पचालझरना गाउँपालिका कालिकोट !









प्रतिक्रिया दिनुहोस्