२०८३ बैशाख २२ गते मङ्गलवार

“काभ्रेको तेमालमा बस दुर्घटना: गाडी साहुको मृत्यु, चालक गम्भीर घाइते”



काभ्रे : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५:४० बजे मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनामा बसका गाडी साहु तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् र उनलाई तुरुन्तै धुलिखेल अस्पताल पठाइएको छ।

बस बिहेको लागि जन्ती पुर्‍याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटना भएको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए। घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिम पर्छ। प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा ब्याक गर्दा अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार