कालिकोट । पलाँता गाउँपालिकाले गाउँपालिकाबाहिर विभिन्न स्थानमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गर्दै चार जिल्लामा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार सुर्खेत, बाँकेको कोहलपुर, बर्दिया र कैलालीमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकासम्म आउनुपर्ने बाध्यता हटाउँदै लाभग्राहीलाई बसोबास रहेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
तालिकाअनुसार सुर्खेतमा २०८३ भदौ ८ गतेदेखि ९ गतेसम्म, बाँकेको कोहलपुरमा भदौ ११ गतेदेखि १३ गतेसम्म, बर्दियामा भदौ १४ गतेदेखि १५ गतेसम्म र कैलालीमा भदौ १७ गतेदेखि १९ गतेसम्म शिविर सञ्चालन हुनेछ। 
शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालगायत लाभग्राहीले आवश्यक कागजातसहित उपस्थित भएर नवीकरण तथा सम्बन्धित सेवा लिन सक्नेछन्। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा भत्ता परिचयपत्रलगायत सम्बन्धित लाभग्राहीअनुसार आवश्यक कागजात माग गरिएको छ।
संघीय सरकारले पनि सामाजिक सुरक्षा भत्ता लाभग्राहीले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।
पलाँता गाउँपालिकाले गाउँपालिकाबाहिर रहेका लाभग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले सम्बन्धित स्थानमै शिविर सञ्चालन गर्न लागेको जनाएको छ। गाउँपालिकाको आधिकारिक वेबसाइटमा समेत सामाजिक सुरक्षा सेवा तथा सूचनाहरू उपलब्ध गराइँदै आएको छ।
शिविरसम्बन्धी थप जानकारीका लागि गाउँपालिकाले तोकेका सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न तथा सम्बन्धित वडा अध्यक्षहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।









प्रतिक्रिया दिनुहोस्