कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट बग्ने शान्तिघाट खोलामा बाढीको बहाव एक्कासी बढेपछि खोला किनारका करिब डेढ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार साँझ करिब ७ बजेदेखि भएको वर्षाका कारण खोलाको मुहानमा पहिरो खसेर बनेको ताल फुटेपछि शान्तिघाट खोलामा बाढी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिएका छन्।
अध्यक्ष केसीका अनुसार मुम्राको बालीपाटादेखि गैराखाडा, लामाबगर हुँदै शान्तिघाटसम्म खोलाको बहाव बढेको हो। बाढीको जोखिम बढेपछि खोला किनारमा रहेका स्थानीयलाई तत्काल खबर गरी सुरक्षित स्थानमा सारिएको हो।
यद्यपि, शुक्रबार बिहान ६:५० बजेसम्म खोलामा बाढीको बहाव अत्यधिक रहे पनि शान्तिघाट आसपासका कुनै पनि क्षेत्रमा मानवीय तथा भौतिक क्षति नभएको शान्तिघाटका स्थानीय व्यवसायी वीरेन्द्र बमले जानकारी दिएका छन्।
उनका अनुसार खोलामा पानीको बहाव उच्च रहेकाले स्थानीयवासी अझै सतर्क अवस्थामा छन्। वर्षा पुनः सुरु भएकाले थप जोखिम हुनसक्ने भन्दै खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
शान्तिघाट खोला सान्नी त्रिवेणी गाउँपालिकाका वडा नं. ४, ५, ६, ८ र ९ हुँदै बग्छ। मुम्राबाट करिब दुई सय मिटर तल पुगेर यो खोला कर्णाली नदीमा मिसिन्छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रवक्ता जनक शर्माले पनि शान्तिघाट खोलामा पानीको बहाव बढेपछि खोला किनारका स्थानीयलाई सचेत गराइएको बताएका छन्।
उनले तत्कालै ठूलो क्षतिको अवस्था नरहेको बताउँदै वर्षा जारी रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्।
गाउँपालिका र स्थानीय प्रशासनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा अनावश्यक रूपमा खोला किनारमा नजान आग्रह गरेका छन्।









प्रतिक्रिया दिनुहोस्